किराँत सुनुवार सेवा समाज युकेद्वारा उभौली ष्याँदर सम्पन्न
पैयू फुल्दा मंसिरे पूर्णिमा उधौली मान्ने र गुराँस फुल्दा वैशाखे पूर्णिमा उभौली मान्ने बेलायतबासी किराँत सुनुवारहरूले जुन २३ तारीख, २०१३ आइतबारको दिन उभौली पर्व ष्याँदर पिदारलाई बडा धुमधामले मनाएका छन् । तिथि मिति अनुसार बुद्ध पूर्णीमाको दिन किराँत धर्म र सुनुवार संस्कृति अनुसार मानिने उक्त ष्याँदर पिदार उभौलीलाई महिनौँ दिनसम्म ढोले समूह घरघरमा घुमी सलाक गाउँदै, ढोल झ्याम्टाको साथमा नाची सुरु चोतेक (लक्षण÷शह भिœयाउने) चलन विधिविधान गरेर गाउँघरमा मनाउने चलन छ । यसरी शह हुल्न आउने ढोले समूहलाई घरबेटीले नयाँ अन्नबाट बनेका सुनुवारी परिकारहरू ऐरी, हौ खमे, खट्टे, पोक्चे, सोप्ले, स्याँबु आदि खान दिएर सत्कार गर्ने परम्परा छ ।
तर प्रवासी जीवन बिताइ रहेका कोइँच सुनुवारहरूले भने आफ्नो जातीय महान पर्वलाई, धर्म र संस्कृतिलाई नमूनाको रूपमा, सम्झनाको रूपमा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले मनाउने क्रममा सही तिथि मितिको दिन मनाउन असमर्थ छन् कतिपय अवस्थामा । आफ्नो थाँतथलोमा जस्तो खाँटी तरिकाले विधिविधानसहित मनाउन सम्भव नभए पनि महिनाको अन्ततिर प्रतिकको रूपमा किराँत सुनुवार सेवा समाज बेलायतले सम्पन्न गरेको उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ बेलायतका महासचिव नरेश कामनाङ राई प्रमुख अतिथि रहेका थिए । यसै गरी आदिबासी जनजाति महिला महासंघ कि अध्यक्ष कमला थापा विशेष अतिथि रहेकी थिइन् । त्यस्तै भातृ संघ संस्थाहरूबाट अध्यक्ष पदम राई (किराँत राई योयाख्खा), अध्यक्ष नगेन्द्र नेमवाङ (किराँत याकथुम चुमलुङ फार्नबोरो शाखा) बाट आतिथ्य जनाएका थिए । यसै क्रममा तमुधी संस्था बेलायतबाट उपाध्यक्ष सूर्य गुरुङ, तामाङ संस्था बेलायतबाट अध्यक्ष कविराज घिसिङ, बुद्धिस्ट एशोसिएशनबाट अध्यक्ष काजी शेर्पा, शेर्पा एशोसिएशनबाट अध्यक्ष शेर्पा, मोना युकेबाट अध्यक्ष उमेश राणा, फेडेरेशन अफ नेपलीज जोर्नलिष्ट एशोसिएशन युके तथा कान्तिपुर दैनिक युकेका करेस्पोण्डेन्ट अध्यक्ष नविन पोखरेल, युरोपका लागि नेपाली टेलिभिजनबाट विसन गुरुङ, राई यायोखाबाट रत्न राई लगायत अन्य देशी विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष जंग सुनुवारको सभापतित्वमा रहेको उक्त ष्याँदर पिदार कार्यक्रम प्रमुख अतिथि आदिवासी जनजाति महासंघ बेलायतका महासचिव नरेश कामनाङ राई र अध्यक्ष जंग सुनुवारको हातबाट जोर पानसमा दीप प्रज्ज्वलन गरी शुभारम्भ गरिएको थियो । यसको साथै नेपालको राष्ट्रिय गीत र आदिबासीको राष्ट्रिय गानपछि संस्थाका महासचिव छत्र सुनुवारले स्वास्थ्य अनि सुरक्षाका विषयमा उपस्थित सबैलाई जानकारी गराएका थिए । सल्लाहकार भावना परिष्कृतले सम्पूर्ण अतिथि तथा उपस्थित वर्गलाई स्वागत मन्तव्य व्यक्त गर्दै किराँत सुनुवारहरूको महान पर्व ष्याँदर पिदारको बारेमा प्रकाश पारेकी थिइन् । प्रमुख अतिथि, विशेष अतिथिहरूबाट शुभकामना मन्तव्य व्यक्त भएपश्चात नाःसो कृतिबहादुर सुनुवारबाट ष्याँदर पिदार (ष्याँदरको पूजन विधि) सम्पन्न भएको थियो । संस्कृति समूहको संयोजक बद्रि सुनुवारले कर्णप्रिय लयको तालमा सलाक (श्लोक) गाउँदै सुनुवार भाषा र ढोल झ्याम्टाको तालमा श्याँदर सील (नाच) लाई झाँकीसहित हलभित्र प्रवेश गराउँदा कार्यक्रमको रौनकताले उपस्थित सबैलाई उत्साहित र आकर्षित पारेको थियो ।
यसरी एक घण्टासम्म अतिथिहरूसहित उपस्थित सबैले ढोल झ्याम्टाको विभिन्न ताल र धूनमा सील गरेपछि कार्यक्रमको पहिलो चरणलाई बिट मारेको सङ्केत गर्दै उद्घोषिका शुभद्रा सुनुवारले उद्घोषक नाइलु क्याब्चालाई माइक हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रमको दोस्रो चरणमा किराँत सुनुवार सेवा समाज बेलायतको प्रथम स्मारिका तस्चेल (ऐना) को विमोचन प्रमुख अतिथिको हातबाट भएको थियो । संस्थाको पहिलो स्मारिका तस्चेलका बारेमा सटिक जानकारी गराउँदै ‘तस्चेलको भनाई’ नामक भूमिकालाई भावना परिष्कृतले वाचन गरेकी थिइन् । यसैक्रममा सम्पूर्ण नेपालबासी किराँतहरूको मात्र नभएर विश्वभरिका मङ्गोल जातिको इतिहासलाई समेत छुवाएर प्रकाशन गरिएको न्यमिभल प्ष्चबलत ःबकतभच च्बअभ या ज्ष्mब िनामक पुस्तकका लेखक चन्द्रप्रकाश सुनुवारद्वारा लिखित अति महत्वपूर्ण पुस्तकलाई संस्थाका अध्यक्ष जंग सुनुवारको हातबाट विमोचन गरिएको थियो । स्मारिका तस्चेल प्रकाशनमा विशेष योगदान पु¥याउने सल्लाहकार भावना परिष्कृत र लेखक चन्द्रप्रकाश सुनुवारलाई प्रमुख अतिथि र अक्ष्यक्षको हातबाट खादा लगाई सम्मान गरिएपछि पुन ष्याँदर सिलमा सम्पूर्ण सहभागीहरू रमेका थिए । कार्यक्रममा संस्थालाई पि.ए. सिस्ट तथा अन्य उपहार प्रदान गरेर विशेष योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो भने नाःसो कृतिबहादुर सुनुवारलाई अध्यक्षबाट विशेष सम्मान गरिएको थियो । यसै क्रममा किसुम समाज (किराँत सुनुवार महिला समाज) युकेका छोरी चेलीहरूले नाःसोलाई सगुन सत्कार गरेका थिए ।
यसै गरी संस्कृति समूहमा सम्पूर्ण पदाधिकारी तथा ढोलेहरूलाई अध्यक्षबाट खादाले सम्मान गरिएको थियो । किसुम समाजका चेलीहरूले ढोले समूहलाई पनि विशेष सगुनले सत्कार गरेका थिए ।
सुनुवारी पर्व विशेष खानाको परिकारहरू ऐरी, पोक्चे सोप्ले, हौ खमे, वाल्सो रेब, ओफू वाल्सो, हिरसो सोप्ले, खाइनी पुकी, स्याँवु आदि किसुम समाजले भव्यताको साथमा तयार पारेको थियो । अतिथि तथा उपस्थित सम्पूर्णलाई प्रसादको रूपमा किसुम समूहले वितरण गरेको थियो । खानपानको साथमा नमूनाको रूपमा भए पनि निकै हर्ष र उल्लासको साथमा युकेवासी कोइँच सुनुवारहरूले दिनैभरि ढोलको विभिन्न ताल र सलाक गीतको भाकामा सील गरेर (नाचेर) उभौली ष्याँदर पिदारलाई सम्पन्न गरे ।
नयाँ अन्न बाली पाकेपछि नौगी खाने परम्परा अनुसार पाकेको खाना परिकारलाई भुमिपुत्र किराँतहरू आफ्नो पितृ देवलाई अर्पण गर्छन् र प्रकृतिलाई पनि अर्पण गर्छन् । पितृ र प्रकृतिपूजक किराँतहरूको संस्कृतिमा नयाँ अन्नलाई उधौली र उभौलीको विशेष विधि विधानसहितको पूजनपछि मात्र ग्रहण गर्ने चलन छ । नयाँ अन्नवाली विरुवा लगाउनु अगाडि पनि किराँतहरू पितृ र प्रकृतिलाई नै आह्वान, पूजन र प्रार्थना गर्छन् । नयाँ अन्नबाली राम्रोसँग सप्रियोस्, गाउँ र देशमा अनिकाल, भोकमरि नपरोस्, अकाल मृत्यु र दैविक सङ्कट भोग्न नपरोस् । मानव र पशुपक्षी, वनस्पति सबैको रक्षा होस्, कल्याण होस्, नयाँ अन्न फलाई हाम्रो निम्ति प्राण जुटाइदिनुभएकोमा प्रार्थना पुकार गर्दै मङ्गल वचन र पवित्र कामनासहित प्राचीन कालदेखि किराँत सुनुवार जातिले वर्षको दुई पटक मङ्सिरे पूर्णीमा उधौली र वैशाखे पूर्णीमा उभौलीलाई मुख्य चाडको रूपमा मनाउँदै आइरहेका छन् । नेपालभित्रको यो सुन्दर संस्कृति वर्तमान परिप्रेक्ष्यमा विश्वव्यापी बन्दै झनझन लोकप्रिय हुँदै गइरहेको छ । यो पर्व हिन्दुहरूको दशैँ, मुस्लिमहरूको इद जस्तै सम्पूर्ण किराँतीहरूको महान साझा पर्व हो । यद्यपि यो नेपालको भुभागमा बसोवास गर्ने नेपालीहरूको पर्व र राष्ट्रकै श्रृङ्गारको रूपमा प्रख्यात हुनु जरूरी छ किनकि देशभित्रको संस्कृतिले सम्पूर्ण नागरिककै चिनारी बोकेको हुन्छ ।