Archives
now browsing by author
काइश्शि सिल अर्थात् काइशि गिवत साइच्चा : कोइँच सुनुवार समुदायका लोक नाटकहरुको विवेचना
-काेइँचबु काःतिच (उकुसु)
टन्टलापुर घाम छ । मानिसहरु तल माथि यताउता रमिता हेर्न बसेका छन् । ढोल बजाउनेहरु गोलो घेरा लगाएर नाचीरहेका छन् । दुई जना सिकारीहरु दुम्सीको सिकारमा निस्केका छन् । उनीहरुले दुम्सी हिड्ने बाटो पहिल्याउँदै गफ गर्दै छन् ।
ढोलको द्रुदु छिलिङ छिलिङ ताल बजाएर दुम्सी डाकीरहेका छन् । दुम्सी विस्तारै आफ्नो वासबाट निस्केर चर्दै चर्दै आउँछ । र, ढोले नाच्ने घेराभित्र पस्छ । ढोलको ताल फेरिन्छ । दुकुम छिल छिल आवाज निकालेर बज्छ । दुम्सी ढोलको बजाउने ढोलेको घेराबाट उम्केर निस्किन खोज्छ तर ढोल बजाउँदै दुम्सी छेक्ने प्रयास हुन्छ । सिकारीहरुले दुम्सीलाई सिकार गर्न पच्छाउँछन् । तर चलाख दुम्सीले सिकारीको सबै जाल थाहा पाउँछ र घेराबाट फुत्केर निस्कीन्छ । त्यसरी घेरा तोडेर बाहिर निस्केको दुम्सी पच्छाउँदै सिकारहरु दुम्सी खेदाउन जान्छन् । ढोलको ताल पनि फेरिन्छ । ढोलेहरु गजब्बले कम्बर मर्काइ मर्काइ नाच्छन् । र दुम्सीको खोजी गर्छन् ।
फेरि ढोलको तालबाटै दुम्सी बोलाउने काम हुन्छ । दुम्सी मकै वारी पुगेर पनि मकै सबै काटेर खाएर सकेको घिस्याउँदै बोकेर फेरि आइपुग्छ । ढोलेहरुले बाटो छाडेर घेराभित्र हुल्छन् । अनि थुन्छन् । ढोलको ताल फेरिन्छ । सिकारीहरुले दुम्सी मार्ने कोशिश गर्छन् । तर दुम्सी मार्न धेरै गाह्रो हुन्छ । दुम्सीले नजीक आएका सिकारीलाई उसको काँडाले प्रहार गर्छ । जोगिँदै जोगिँदै सिकार गर्नुपर्ने हुन्छ । अन्तमा सिकारीले दुम्सीलाई झुक्याएर मार्छ । त्यसपछि ढोलको ताल परिवर्तन हुन्छ ।
दुम्सी मारेपछि ढोल बजाउन रोकिनुहुँदैन । सिकारीहरुले चाइँसिकारीलाई पातमा दुम्सी मारेको आछु चढाउँछन् । अनि त्यसलाई मन्त्र गरेर पुन बौराउँछन् । अनि सबै खुशी हुन्छन् । नाच्दै खुये खुये भन्छै घरभित्र दुम्सी बन्ने कलाकारलाई सिकारीले अँगालो हालेर घरभित्र हुल्छ र एकजोर सागुन खट्टे चिरो राखेर पितृ र प्रकृतिको पिदार गर्दै सबैलाई दुम्सी बनेको कलाकारले पाती लगाउँदै ठूलोलाई ढोग्ने र सानाबाट ढोग थाप्ने गर्दछ । अनि पिदार गरेको प्रसाद सबैले बाँडेर खाने जाँडपानी खाने गरिन्छ ।
परिवेश
यो लोकनाटक गर्नको लागि खासै तामझम चाहिँदैन । यो नाटक गर्नैपर्छ भन्ने वाध्येता भने छैन । तर यो नाटक गर्नको लागि वाद्यवादन बजाउन जान्ने र मुक्दुमि ज्ञान भएको व्यक्तिको भने आवश्यकता हुन्छ । यो नाटकले कोइँचको सिकारीयुगबाट कृषियुगमा प्रवेश गरेपछिको परिवेशलाई समेटेको छ । Read More
धान राेपाइँ काेइँचकाे लागि जीवनशैली पनि हाे
-शाेभा सुनुवार
३० दशकभन्दा पहिलेसम्म न धान दिवस न असारमा १५ मा धान रोपाइ । मलाइ बिर्बिराउदो सम्झना छ । गाउँघरमा धान रोपाइ एउटा ठुलै चाड नै हुन्थ्यो । बिशेषगरि हाम्रो काेइँच समुदायमा। असारे धान रोपाइको निम्ति भकारिमा छुट्टै धान जोहो गरेर राखिन्थ्यो । जुन रोपाइको लागि मात्र भकारी खोल्ने गरिन्छ। असारे रोपाइको लागि मङ्सिरमा नै छुट्याइएको धानको भकारी एक हप्ता पहिले फोरेर केलाइकुलाइ गरि सुकाएर गाउको केही सिमित पर्म फर्काउने गरि साथी बोलाएर कुटेर चामल बनाएर राखिन्छ । जुन चामलको चाम्रे (पुर्सुङ) खाजा विशेष हुन्छ । घिउमा मेथी झानेर चाम्रेमा मोलिन्छ। घिउको बासनाले स्वाद नै असारे रोपाइको बासना आएको महसुस हुन्छ। चाम्रे खाजालाइ तोलोमा बेसार अथवा पुस्टकारिको पातमा थासु हालेर सेतो रातो सुतिको कुप्निले बेरेर खेतमा लाने गरिन्छ। आलुको चाना तरकारी अनि झुस्ले (काइश) तिलको छोप हुन्छ । रोपाइको लागि दुई तीन महिना पहिला नै विशेष किसिमले पकाइन्छ । मेथी हालेर माटोको घ्याम्पा (गर)हरु अगेनाको डिलमा लहरै हुन्थे जुन गरमा भुल्यात्राको (पुइस्सु)बिर्को लगाइएको हुन्थ्यो । पुइस्सु रोपाइको अघिल्लो दिन खेँवारो गर्ने चलन छ। भोलिपल्ट रोपाइको दिन बिहानै दुई चार जना सामिहरु बोलाएर खाजापानी साथी गर्न बोलाइन्छ । जुन अघिल्लो दिन खोलिएको जाडको गरबाट खोलेर बाँसको छपनीमा मगमग बासना चलाउदै छान्दै तरेली तरेली गरेर गिलेन वा घैटो गाग्रीमा भरेर रोपाइ मेलामा लाने जोहो गरिन्छ। मेलामा चार पटकसम्म जाँड खुवाउने चलन छ। बिहान सुरु भएपछी केही बेरमा एक छेल अनि खाजासग एक छेल र मेला सक्ने बेला एक छेल र सकेपछी एक छेल गरेर खुवाइन्छ। खाजा दिने बेलामा पनि विशेष मान्छे छुट्याइ सकेको हुन्छ । पुस्टकारिको पातमा चाम्रे अनि आलु रोपाइको लागि गोरु कति हल लाग्छ त्यो पहिला नै तय गरिन्छ। हलिको तय गरिन्छ अनि गोरुलाइ रोपाइको पहिला दिन नै घासको भारी पुर्याइन्छ। रोपाइको अघिल्लो दिन नै खेतमा खनी खोर्शी पानी लगाएर तयार पारिएको हुन्छ र बीउ उखेलेर राखिएको हुन्छ जुन भोलिपल्ट धुने पखाल्ने काम गरेर रोपिन्छ। गोरुको हल हेरेर बाउसे रोपारहरु तयार गरिन्छ र रोपाइमा अलग कामको बाडफाड गरिन्छ। पानी लगाउनेदेखि आलि लाउने चिल्लाउने दाँदे लाउने सम्याउने कुतुर्के खन्ने छपकाने फ्याउरे लाउने सबै पुरुषहरुको भागमा पर्छ । महिलाहरुको बीउ धुने पखाल्ने कति छ त्यो अनुरुप मान्छे राखिन्छ । अनि रोपारहरु धान रोप्न एक हलमा 5/6 जना हुन्छन र बीउ बाडदै हिडने एक लाइनमा एक जना हुन्छ। असार सबैको रहरको महिना हो विशेष हो । तर पनि सुनुवारहरुको निम्ति त चाड नै हो। यसरी रमाइलो रोपाईमा गीत गाउँदै रमाउँदै दिनभरि मेला गरिन्छ । हासो ठटा गर्दै दिन गएको पत्तो नै हुँदैन। त्यो दिन जसको रोपाइँ हुन्छ त्यो धनीको खुब महत्त्व हुन्छ। खेत धनीलाई डाड्ने जिसकाउनेदेखि सबै हुन्छ। धनीलाई जतिबेला रोपाइँको क्रममा पुतली धान भेटिन्छ तब पिर पर्छ। पुतली धान बीउ भेटियो भने त्यो बिउलाई माया गरेर अरु बीउको मूठा लिएर त्यसको बीचमा पारी जुन खलामा धान झाटीन्छ त्यो खला गराको बीचमा त्यो पुतली धानलाई बीचमा राखेर छेउबाट सात वटा मुठा धान गाडेर भकारी बनाएर रोपिन्छ । जुन राम्रो फलोस फुलोस सुरो होस भनेर रोपारहरुले कामना गर्दै भकारी बुट्टा मज्जाले सजाएर गोलो बनाएर रोपिन्छ । त्यो साच्चिकै सुन्दर हुन्छ र पछिसम्म पनि त्यो बुटा देखिरहन्छ । अनी जोसुकैले पनि पुतली धान निस्केछ भनेर चिन्न सकिन्छ। तर यस्तो धान सबैकोमा हुँदैन। यस्तो धान जसको खेतमा भेटियो त्यो घरको छोराछोरीको मङ्सिरमा बिहे हुन्छ भन्ने जनविश्वास पनि छ। यसरी भकारी बनाएर रोपेपछि खेताधनिलाई धानलाई बीउको टिका लगाएर सगुन गरिन्छ । अनी त्यो भकारीमा रोपेको बीउ पनि दिइन्छ । जुन बीउ घरमा लगेर ढोकामा टास्ने चलन छ । सहा सुरु आउँछ भन्ने मान्यता छ। त्यो पछि धनीले फेरि सबै रोपारहरुलाई हिलोको नै टिका लागेर दक्षिणा दिने गरिन्छ यो पुतली धान भेटिनु रमाइलो र राम्रो पक्ष हो तरपनि धनीलाई पैसा खर्च हुने पिर पनि छदैछ। असारभरी गाउँ घर भरी पालैपालो पर्म गरेर रोपाइ गर्ने सस्कार छ । हरेक बर्स नियम हुन्छ जस्ले पहिलादेखि रोपाइ सुरु गरेको छ उसैबाट सुरु हुन्छ । सधै नै अनि पालोपिलो रोप्दै तालिका संवत् बन्दै जान्छ। एकले अर्काको मर्का पर्ने गरि रोपाइ गरिदैन । किन कि त्यो खेताला त्यो गोरु हलिदेखि सबै नै बाडेर गर्ने चलन भएकोले मिलेर गरिन्छ। सुरुमा रोपाइँ गर्दा गाउँ मुली वा सिम खेत अलि तल तलबाट रोपाइ सुरु हुन्छ । अनि बिस्तारै पाखा खेतमा रोपाइ गरिन्छ। अनि रोपाइँ सुरु गर्दा वाईश पीदार गरिन्छ । जो त्यो खेती लगाउँदा राम्रो होस भनेर आज्ञा मागेर रोपाइँ गर्ने चलन छ । तर अहिले सबै कथामा मात्र आधारित हुन थालेको छ। यसरी रोपाइँ गर्दा तलबाट सुरु गरेर अन्तिम पाखा खेत माथि आएर सक्ने चलन छ। रोपाइँको अर्को रमाइलो पक्ष भनेको हिलो खेल्नु रमाउनु हो। हामी माटोको मान्छे माटोसग रमाउनु माटोको बासना लिनुमा खुब खुसी हुन्छौं। हिलो नखेले रोपाइँको मज्जा नै नहुने भनेर जसको घरमा रोपाइँ छ त्यो धनीलाई हिलो नदलेसम्म रोपाइँ गरेको मज्जा नहुने भनेर अन्तिममा धानको विउको पाती लगाएर हिलोको टिकासम्म लगाउने चलन छ। यसैकारण हामीले हरेक महिना वर्षा समयसँग विभिन्न चाडसग अनी प्रकृतिसग जोडिएर महत्त्व राखेका हुन्छौं । अन्नबाली लाउदा उठाउँदा जे गर्दा पनि हाम्रो संस्कृति हुन्छ । हरेक कुरामा अर्थ हुन्छ कथा हुन्छ । तर हामी आफैले जगेर्ना गर्न नसकेको अवस्था छ। राज्यले महलभित्र गमलामा धान रोपेर धान दिवस मनाई रहदा यस्ता साचिकैको धानबाली लाउने हरेक किसानहरूको पहिचान गरेर उनीहरूको शैली र परमपरागत कामलाई खोजेर राज्यले संरक्षण गर्नुपर्ने देखिन्छ । जुन राष्ट्रको एक समुदायको एउटा राम्रो संस्कृति हो परम्परा हो। रोपाइँ सकेपछि गाउँ टोलमा नै एउटा ठूलो काम सकिएको मानिन्छ । मुठी लगाएर मुरी फलाउने ठूलो चाहना सबै किसानमा हुन्छ। यो हर्षमा गाउँभरीका रमाइलो गर्ने मिठो मसिनो खाने गरिन्छ । वर्षमा खेती गर्दा चिसो लाग्छ भनेर कुखुरा पालेर राखेके हुन्छ । यसरी धान राेपाइँ राेपाइँ मात्रै हाेइन काेइँचकाे लागि जीवनशैली पनि हाे ।
(लेखक काेइँच समुदायकाे पहिलाे महिला कवि हुन्)
सेसेन्जरी माया अंकुराएको दिन
–काःतिच
नाम्सि !
जब जब गाउँघर, जंगलभरि
सेतम्मे सेसेन्जरी फुलीरहेको देख्छु
तिम्रो सम्झनाले अत्ति नै उत्तेजित बनाउँछ ।
कुन्नि तिमीलाई
सम्झना आउँछ कि आउँदैन नाम्सि,
काइशि सिलमा दुमा जाग्दा
अन्जान निर्दोष तिम्रो नजरमा
लह लह हरिया मकैका बोटहरु
मभरि बयली खेलीरहेका त्यो दिनको ।
जब
बुल्फे पिदार गरेर
खरङ्गाले शाँदार देयि बोलाउँछ-
ओ ::: हो हो हो हो हो
दुमा होपो :::
ब्लुङ … ब्लु ब्लु ब्लु ब्लु ब्लु
ओ ::: हो हो हो हो हो
जात्ना होपो :::
ब्लुङ … ब्लु ब्लु ब्लु ब्लु ब्लु
ओ ::: हो हो हो हो हो
सारिङ होपो :::
ब्लुङ … ब्लु ब्लु ब्लु ब्लु ब्लु
ओ ::: हो हो हो हो हो
शारि फोे :::
ब्लुङ … ब्लु ब्लु ब्लु ब्लु ब्लु
ओ ::: हो हो हो हो हो
शाक्कार्पो :::
ब्लुङ … ब्लु ब्लु ब्लु ब्लु ब्लु
ओ ::: हो हो हो हो हो
तेल होपो :::
ब्लुङ … ब्लु ब्लु ब्लु ब्लु ब्लु
अनि
दुमादुले, ग्लुदुल्माले
ग्येँकु फर्कार थोप्ला दिन्छन्-
ब्लुङ ब्लुङ ब्लुङ ब्लुब्लु ब्लु
ब्लुङ ब्लुङ ब्लुङ ब्लुब्लु ब्लु
ब्लुकुम ब्लुकुम ब्लु ब्लु
ब्लुकुम ब्लुकुम ब्लु ब्लु …
साँच्चिकै नाम्सि
झल्झली सम्झना आइरहन्छ
कञ्चन, स्वच्छ, सफा
निस्छल, निस्कपट, निस्चल
खुंखार तिम्रो संगीन हेराइले
अनयासै अघोषित हाम्रो
सेसेन्जरी माया अंकुराएको दिन ।
………………………………
काःत, खिँचिदेम्बा ४ ओखलढुंगा ।
सुनुवार सेवा समाजले जोड्यो ३ रोपनी अचल सम्पत्ति ।
इलाम । भावि नीति तथा कार्यक्रममा इलामको पुवामझुवा कोइँच गाउँ चैतेको शाँदार ग्योरलाई मुक्दुम गार्डेनको रुपमा समेटेको पाँच वर्षपछि इलाम नगरपालिकाले साँस्कृतिक संग्राहलय बनाउने भएको छ । साँस्कृतिक संग्राहलय निर्माणको लागि सुनुवार सेवा समाज पुवामझुवा वडासमितिले ३ रोपनी जग्गा भर्खरै खरिद गरेको छ । इलाम जिल्ला मालपोत कार्यालयमा दुई दिन अगाडि मात्रै सुनुवार सेवा समाजको नाममा ३ रोपनी जग्गा पास गरी धनीपूर्जा प्राप्त गरेको जानकारी अध्यक्ष सुरज मुखियाले जानकारी गराउनु भएको छ ।
पाटेनागीमा इलाम नगरपालिकाको कार्यक्रममा जाँदै गर्दा चैतेका सुनुवारहरुले बाटैमा मेयर महेश बस्नेतलाई ज्ञापनपत्र बुझाएको थियो । यसरी ज्ञापनपत्र बुझाएपछि तत्कालै नगरसमितिको बैठक बसेर कोइँच साँस्कृतिक संग्राहलय निर्माणको लागि रु सत्रा लाख बजेट बिनीयोजन गरेको जानकारी पर्यटन समिति सदस्य काःतिच सोम सुनुवारले जानकारी गराउनु भएको थियो ।
नगरपालिकाको प्राविधिक टोलीले खरिद गरिएको जमिनमा कोइँच साँस्कृतिक संग्राहलय निर्माणको लागि स्थलगत सर्भेक्षणसमेत गरिसकेको छ ।
सुनुवार सेवा समाजको पहलमा दोलखा जिल्ला फाचेमा कोइँच संग्राहलय स्थापना भइसकेको छ । सुनुवार सेवा समाज बजेनी शंकरापुर काठमाडौंमा दुइकोठे भवन बनेको छ भने सुनुवार सेवा समाज कमलामाइ नगरसमितिको पहलमा सिन्धुलीमाडीमा पनि १० लाख बराबरको भवन निर्माण भएको छ । धरान र खोटाङमा सुनुवार सेवा समाजको नाममा भवन निर्माण भएको छ । तर दुःखको कुरा कोइँचको किपट भनिएको रामेछाप र ओखलढुंगामा हालसम्म सुनुवार सेवा समाजको नाममा भवन निर्माण हुन सकेको छैन ।
परम्परा र समयलाई जोडेको साराकाे मुक्दुमि चित्रकला
–काेइँचबु काःतिच
सारा तुनिच अर्थात दुर्गा सुनुवार । सम्भवत उनमा मुक्दुमको मेग्यो चढेको छ । र त MFA 1st semester display मा उनले समसामायिक जल्दोबल्दो सन्सारको समस्यालाइ देखिन् र क्यान्भास पोतिन मुक्दुमि दिव्य कुचीले । मुस्किलले औैलामा गन्न सकिने कोइँच चित्रकारहरुका लागि उनको चित्रको महत्व थाहा छ । कलाको दृष्टिकोणमा उनका कला बुझ्न मथिङ्गल त्यति घोत्लिनु पर्दैन अर्थात उनकाे चित्रकला अमुर्त छैनन् ।
हुन त उनले यसभन्दा अगाडि पनि कोइँच संस्कृति झल्किने चित्रकला प्रदर्शनी गरीसकेकी हुन् । तर त्यो कलाभन्दा यस पटकको कला प्रदर्शनीले कोइँच परम्परा र वर्तमान समयसँग नजीकबाट मिहीन पाराले जोडेकाे छ । यसो भनौं विश्वले भोगेको व्याथा बोकेको छ ।
कोइँच कला संस्कृतिमै बसेर पनि सन्सारसँग समवेदना सटासाट गर्न सकिने सन्देश दिएकी छिन् । एक पटक कोइँचको आदिम जनजीवनतिर फर्काएकी छिन् वर्तमान टेकेर । कन्दमुल र सातवटा काँसाको थालले कोइँचको उबेला र योबेलालाई सात तला उँधौली आयनसँग जोडेकी छिन् ।
कोइँचमा छ महिना लेक उत्तरायन र छ महिना बेँसी दक्षिणायन गर्ने पुरानो चलन अहिले भने मात्रै संस्कृतिमा सिमित रहेको छ । यसाे भनाै गाेठखर्क लेकबेँसी गर्ने दिन इतिहास भए । उभौलीमा ९ तला र उधौलीमा ७ तला (साकुर) पिदार गर्ने संस्कार भने यथावत छ । यही समयसंस्कारलाई भिजुयल आर्टको माध्यमबाट बौद्धिक वहसको थालनी गरेकी छिन् उनले । याे भन्दा सुखद कुरा काेइँचहरुकाे लागि अरु के नै हुन्छ र । सँगसँगै यो समय कोभिड १९ ले आक्रान्त समय हो । यसैले इम्युनिटी पावर बढाउन सकियो र प्रकृतिसँग सहकार्य गर्न सकियो भनेमात्रै कोरोन भाइरससँग कुस्ती खेल्न सकिन यथार्थ कसैबाट छिप्न नसकेकै कुरा हो । यसैले कोइँचहरुले उहिले र हालसम्म पनि कला, दासु, श्योकात, खिँःरेबि, काइँति, बाकिरेबि खानु शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने अचुक उपाय रहेछ र हो भन्ने सन्देश पस्केकी छिन् ।
उनले सबै चित्रहरुकाे भुइँमा सेतो, रातो र कलो रङको प्रयोग गरेकी छिन् । मुक्दुमी रङ्ग भनेकै रातो र सेतो हो । सेतो रङ्गलाई तटस्थ शुभ रङ्ग र पुरुषको प्रतिक मानिन्छ । रातो रङ्गलाई सृष्टि गर्ने न्यानो र संघर्ष अनि महिलाको प्रतिक मानिन्छ । काेइँचमा यही सेताे र राताे दुइ रङ्ग नै चलनचल्तीमा छ । यसैले कोइँचहरुमा २ र ८ लाई शुभ र १ र ४ लाई अशुभ अंक मानिन्छ । त्यसैगरी हरेक चित्रकाे भुइँ रङ्ग कालाे प्रयाेग गरेकी छिन । कालो रङ्गलाई कुलपुरोहित र दुइ पुस्ताहरुको पृष्ठभूमिमा मात्रै प्रयोग गरेकी छिन् । कालो रङ्गलाई अशुभ मानिन्छ । यसैले काेइँच संस्कृतिमा पोइँबो ग्याँमिले नराम्राे अपसकुन (खड्गो) काट्दा कालो धागो, कालो अक्षेता र कालो कपडाको प्रयोग गर्छन् ।
कालो रङ्ग पनि दुई पुस्ता भनौं या बुबाछोरा र आमाछोरी उनीहरु कलो रङ्ग प्रयोग गरेको कंक्रिट शहरतिर जानु कोइँच संस्कृति संकटमा रहेको देखाउँछ भने पोइँबो र ग्याँमि दुई जनाको भने पछाडितिर कालो रङ्गमा कंक्रिट शहरकाे घर देखाउनु भनेको कोइँच संस्कृतिलाई संरक्षण गर्न वा दुमा लाप्चो (खुवालुङ) बाट सुरक्षित निक्लन अब सबै नयाँपुस्ताले कोइँच संस्कृतिलाई अवलम्बन गर्नुको विकल्प नरहेको बताएकी छिन् ।
चित्रकाे भुइँकाे प्याट्रनहरु सबै काेइँच मुक्दुमी चित्रा र वाद्यवादनहरुबाट खिपेकी छिन । जसले मुक्दुम र संस्कृतिमा उनकाे लगाव र गम्भीरता के कतिसम्म छ भन्ने प्रष्टैसँग देखिन्छ । यति गहिरोरुपमा कोइँच संस्कृति माथि कलाकृति सिर्जना गरिएको र प्रर्दशनी गरिएको यो नै पहिलो हो । सारा तुनिचको भविश्य अझ उज्ज्वल होस् भन्ने हार्दिक शुभकामनासहित । शुभाशिष ।
प्रतिगामी निर्णयको साँक्षी बन्दिन : वैशाखमा सुसेस सम्मेलन हुने
वैशाख २४ गते सम्मेलन हुन सक्दैन भने जेठ मसन्तभित्र सम्मेलन हुन्छ भन्ने के छ ग्यारेण्टी रु सुनुवार सेवा समाज उपाध्यक्ष् अमृतबहादुर सुनुवार र सल्लाहकार संयोजक मनप्रसाद सुनुवारले थान थापेपछि वैशाख २४ गते सुनुवार सेवा समाजको १० औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय भयो । तर सुनुवार सेवा समाजका संस्थापक कोषाध्यक्ष तथा सल्लाहकार टिकाराम मुलिचाले भने देखीजानी यस्तो प्रतिगामी निर्णयको साँक्षी बन्नु छैन भन्दै निर्णय पुस्तिकामा सही नगरी बाहिरीनु भयो । उहाँको तर्क थियो, राज्यले बैशाखमा निर्वाचनको मिति तोकीसकेको छ । अदालतमा मुद्दा छ । यदि संसद पुनःस्थापना भयो भने पनि वर्तमान सरकारले आन्दोलन गर्छ । सुनुवार सेवा समाजमा आवद्ध कुनै पनि सुनुवारहरु राजनीतिबाट अछुत छैनन् । कुनै न कुनै पार्टीमा आवद्ध त छन् । चुनाव भयो भने उम्मेदवार दिन कुद्ने यही हुनुहुन्छ । र भएन भने पनि विरोधमा झण्डा बोकेर उफ्रिने पनि सुनुवार हुनु नै हुन्छ । राज्यको राजनीतिक विचलनले सुनुवार सेवा समाजमा कसरी प्रभाव पर्छ भन्ने यी सबै कुरा थाहा हुँदा हुँदै पनि संघीय समितिले यस्तो कच्चा र प्रतिगामी निर्णय गर्नु बच्चाले खेले जस्तै हो । मेरो असहमति रह्यो । मैले निर्णय गर्ने होइन कार्यसमितिले माइन्युट गर्नुहुन्छ भने गर्नुस् ।
दुई सल्लाहकारसहित जम्मा ११ जना संघीय समितिको उपस्थिति भएको सुसेसको १० औं वैठकमा बाँकी सबैको मत भने जेठ मसान्तसम्ममा १० औं राष्ट्रिय सम्मेलन गर्नुपर्ने मत रहेको थियो ।
सम्मेलनको मुटु साधारण सदस्य
जुनसुकै सभा सम्मेलन अधिवेसनको मुटु भनेकै सदस्य हो । संस्थागत अद्यावधिक हुनुपरेउ सल्लाकार टिकाराम मुलिचाले संगठन विस्तार तथा अद्यावधिमा जोड दिए । सुसेस १० औं राष्ट्रिय सम्मेलनको मुटु पनि जम्मा साधारण सदस्यहरुको गणपुरक उपस्थिति हुनुपर्दछ । गणपुरक सदस्यहरु भनेका स्थानीय समिति वडा समिति, गाउँ÷नगर समिति, जिल्ला समिति, प्रदेश समिति, शाखा, आङ्गिक संस्थाका प्रतिनिधिहरु नै हुन् । महासचिव समीर मुखियाले अहिलेसम्म विश्वव्यापी कोभिड १९ महामारीको कारण सुसेसको स्थानीय तहको सम्मेलन गर्नसक्ने अवस्था नभएको हुँदा ठ्याक्कै यति नै स्थानीय समिति अद्यावधि भएको छ भन्ने टुँगो नभएको तर १२ वटा जिल्ला भने सम्पर्कमा भएको वताउनु भयो । सल्लाहकार मनप्रसाद सुनुवारले आफुले नवौं सम्मेलन गर्दा १८ जिल्ला अपडेट रहेको बताउनु भयो ।
सम्मेलनको लागि चैत्र २५ गतेसम्ममा अनिवार्य स्थानीय तहलाई अद्यावधिक गर्न पत्रचार गर्नुपर्ने उपाध्यक्ष अमृत बहादुर सुनुवारको धारणा रह्यो । पटक पटक सम्मेलन गर्नको लागि माइन्युट हुने तर कार्यान्वयन नहुनेमा गुबो समस्या भनेको स्थानीय तह अद्यावधिक हुन नसक्नु र नमान्नु नै हो ।
आर्थिकको कारण देखाएर सम्मेलन रोकिँदैन
पटक पटक सुनुवार सेवा समाजमा आर्थिक विषयमा प्रश्न उठ्छ । यसै विषयमा सुसेस संस्थापक कोषाध्यक्षले सुनुवार सेवा समाजको स्थापना गर्दा एक जना कोइँच आमाले झुम्के थैलीबाट १ मोहर खुशीले सहयोग गरेको र त्यो सहयोग जिन्दगीको सबैभन्दा अमुल्य सहयोग भएको उल्लेख गर्दै सुनुवारको चरित्रको वारेमा भन्नुभयो, यहाँ सुनुवार यस्ता छन् जसले एक दिन यो हामी सुनुवारको साझा घर हो भनेर एक दिन पनि सुनुवार सेवा समाजको भवनमा खुट्टा नटेक्ने र एक पैसा सहयोग नगर्नेले आर्थिक अनियामितताको कुरा वारम्वार उठाउँछ र प्रश्न गर्छ । जसले दान दियो उसले समर्पण गरेउ । उसले संस्थाको दुःख देखेर दियो । आत्मसन्तुष्टि छ ।
कोषाध्यक्ष शोभा सुनुवारले हालसम्मको आर्थिक आयव्याय प्रस्तुत गर्दै आर्थिकको कारण सम्मेलन नरोकीने वताउँदै अगाडि भन्नुभयो, सुनुवार सेवा समाजको सम्मेलनका लागि बजेट प्रस्तुत गर्न मुख्यत मलाइ प्रतिनिधिको सूची र स्थान चाहियो । संगठन विभागले त्यो सूची तयार गरेपछि खास बजेट आउँछ । तै पनि विगतको खर्चलाई हेर्दा ४ देखि ६ लाख खर्च हुन्छ । खर्च स्थानले पनि निर्धारण गर्छ । काठमाडौंमै गर्ने कि काठमाडौं भन्दा बाहिर गर्ने रु आर्थिक स्रोतको कुरा गर्ने हो भने संस्थागत दायित्व सदस्य शुल्क र स्वैच्छिक सहयोग नै हुन् ।
वैठकमा खासै त्यस्तो कुनै पनि विमतीका कुराहरु भएनन् । भित्तेपात्रो छाप्ने जिम्मा सुनुवार विद्यार्थी समाजलाई जिम्मा दिइयो भने सचिवालयको माइन्युट अनुमोदन गरियो । र खिम्ती २ हाइड्रोपावर क्षेत्रमा एफपिक गर्ने निर्णय भएको छ ।
हुलाक टिकट छपाइको प्रक्रिया अगाडि बढ्यो ।
काेइँच बु काःतिच। काठमाडाै ।
सुनुवार सेवा समाज संघीय समितिले शाँदार पिदारलाई प्रवद्र्धन गर्न हुलक टिकट छपाईको लागि प्रक्रिया अगाडि बढाएको छ ।सुनुवार सेवा समाजको संघीय सचिवालय वैठकमा निर्णय गरे अनुसारको तस्वीरमा सञ्चार मन्त्री पार्वत गुरुङले आज तोक लगाउनु भएको छ । सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारलगायत उर्मिला सुनुवार, तारा सुनुवार र विमला सुनुवारको डेलिगेशनले उक्त तोकादेश गराएको हो । अब उक्त फाइल सचिवले हुलाक विभागमा पठाएपछि फेलाटेलिक शाखामा पुगेर टिकट ढाँचा तयार भएपछि पुनः निर्णयार्थ मन्त्रालयमै आउने छ । र, मन्त्रीले छाप्नको लागि तोक लगाएपछि हुलाक टिकट छापिने छ । यो प्रक्रिया द्रुतरुपमा भएमा र यही सरकार रहेको अवस्थामा चाँडै हामी कोइँचहरुको महान चाड शाँदार पिदारका वारेमा पनि हुलाक टिकट छापिने छ । तर विगतलाई फर्केर हेर्ने हो भने प्रेसमा पुगेको हुलाक टिकट समेत थुतिएको इतिहास छ ।