को हो स्ट्राइकर क्यारमबोर्डको गोट्टी चलाउने ?
जनमत नै छैन, झट्ट हेर्दा अरू अधार पनि केही देखिँदैन, तथापि प्रचण्ड यसपालि मलाई प्रधानमन्त्री हुने इच्छा छ भन्दै हिँड्थे । यहाँसम्म कि यसपालि प्रधानमन्त्री हुने म नै हो समेत भन्थे ।
रवि लामिछानेको पार्टीको र रवि लामिछानेको समेत राजनीतिक वृत्तमा कुनै आधार नै बनेको छैन, तथापि रवि लामिछानेले प्रचण्डकै निर्वाचन क्षेत्रमा उठेर प्रचण्डलाई टार्गेट बनाए । र प्रचण्ड लुरुलुरु गोरखा गए । के प्रचण्ड रविको लोकप्रियतालाई मात्रै देखेर गोरखा गएका थिए त ?
सुरुमा रवि लामिछाने स्वयंले अहिले सदनलाई दर्बिलो प्रतिपक्ष जरुरत भएकाले आफ्नो पार्टी सरकारमा नजाने र प्रतिपक्ष भएर आवाज उठाउने अभिव्यक्ति मिडियामै दिएका थिए । अर्कोतिर पार्टीको विचारधारा के हुने भन्ने सवालमा केन्द्रीय तहका नेताहरूबाटै दुईथरीको कुरा आएपछि पार्टीको वैचारिक धारको विषयमा तत्काल नबोल्न लामिछानेले उर्दी नै जारी गर्नुपर्यो । पार्टीको वैचारिक धार टुंगो नलागेकै अवस्थामा लामिछानेले फेरी आफै विचार मिल्ने पार्टीसँग समन्वय गरेर सरकारमा जाने कुरा सार्वजनिक गरे । यहाँसम्म कि रवि लामिछाने त देउवाकोमा गृह मन्त्रालय दिनुपर्यो भनेर माग्नै पुगेका थिए अरे ।
गगन थापालाई आफ्नै गुटकाले समर्थन गरेनन् । के त्यो गगन मन नपरेर वा देउवा लोकप्रिय भएर होर ? या पैसाकै खेल मात्रै होर ?
गठबन्धनबाटै सरकार बनाउने भन्दै आएका देउवाले एक्कासि सभामुख, प्रधानमन्त्री र राष्ट्रपति तीनवटै मुख्य पदमा दावी कसरी गरे ? के यस्तो प्रस्तावमा प्रचण्ड मान्नेवाला छ भन्ने देउवालाई लागेको थियो र ? के देउवा यतिसम्म उल्लू छन् ?
विगतमा सभामुखले नमान्दिँदा एमसिसी सदनमा टेबुलै हुन सकेन । बल्लतल्ल टेबुल भएको पनि सिफारिस त भयो तर राष्ट्रपतिले अनुमोदन नगर्दिँदा किचलो भयो । एसपिपी योजना अमेरिकाले कार्यान्वयन आइसक्यो भनिरहेको छ । तथापि राष्ट्रिय सहमति हुन सकिरहेको छैन ।
यूक्रेन संकटले अन्तर्राष्ट्रिय वृत्तमा अमेरिकाको साख धूलिसाथ भएको मात्रै छैन, अमेरिकाको मुखुण्डोसमेत उत्रिएको छ । ‘रूस हाम्रो लागि तत्कालीन समस्या भए तापनि दीर्घकालीन समस्या चीन हो’ भन्ने बहाना झिकेर अमेरिका यूक्रेन संकटबाट भागिसकेको छ ।
अहिलेको सत्ता समीकरणमा देखिएको उलटपुलट राष्ट्रिय नेतृत्वको आत्मनिर्णयले किञ्चित् होइन । क्यारमबोर्डको गोट्टी चलाउने स्ट्राइकर त अरू नै कोही छ । आजलाई यत्ती…