अन्तर्राष्ट्रिय नारी दिवसः एक चर्चा
-भावना परिष्कृत सुनुवार
विश्वभर महिलाहरुले प्रत्येक वर्ष ८ मार्चको दिन नारी सम्मान तथा सशक्तिकरणहेतु विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामले अन्तराष्ट्रिय नारी दिवस मनाउछन् । यस दिन समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्याउने अग्रणी महिलाहरुलाई सम्झना गर्दै र सम्मान दर्शाउने गरिन्छ । प्रत्येक वर्ष मानिने विश्व नारी दिवस अन्तराष्ट्रिय नारा र थिम निर्मित गरेर मानिन्छ । यसै गरी प्रत्येक देशले आ-आफ्नो समसामयिक नारा प्रष्फुटित गरी अन्तराष्ट्रिय नारालाई पनि समेट्दै नारी दिवस मनाउने चलन छ । यो वर्षको अन्तराष्ट्रिय थिम “चुज टु च्यालेन्ज” हो र स्लोगन “वुमन इन लिडरसिपः अचिभिङ एन् इक्वल फ्युचर इन अ कोभिड-१९ वर्ल्ड” हो भने हाम्रो देश नेपालको यस वर्षको नारा “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” हो । संयुक्त राष्ट्र संघले विश्वभरका नारीहरुको समानाधिकारलाई स्थापित गर्दै उनीहरुको सुरक्षाखातिर विश्वभरमा केही विशेष नीति, कार्यक्रम र मापदण्ड निर्धारण गरेको छ । संयुक्त राष्ट्र संघको अनुसार कुनै पनि समाजमा सृजित सामाजिक, आर्थिक, राजनैतिकजस्ता अनेकौँ समस्याउपरको निवारण नारीहरुको सहभागितावेगर सम्भव छैन ।
खासमा नारी दिवस मनाउने चेतना नारीहरुमा कुन अवस्थादेखि आयो भनेर बुझ्नको लागि अलिकता यसको इतिहासको नालीबेली केलाउनुपर्ने हुन्छ । सर्वप्रथम सन् १९०९ ताका अमेरिकामा केही सचेत सामाजिक अभियन्ता महिलाहरुले २८ फेब्रुअरीमा महिला हकहितको आवाज उठाउँदै महिला दिवस मनाएको थियो । त्यो ताका महिलाहरुलाई मतदानको अधिकार थिएन र मजदुर महिलाहरुलाई पुरुष समान ज्याला र बिदा र अन्य सुविधा पनि समान थिएन । मताधिकार र श्रमिक महिलाहरुलाई पुरुषसमान ज्याला र सुविधा दिलाउने अभियानमा केही सचेत र जागरुक महिलाहरुले चालेको कदम स्वरुप २८ फेब्रुअरीमा महिला दिवस मानिएको थियो । हुन त यसको जग भने सन् १९०८ बाट खन्न सुरुआत् भएको थियो । अमेरिकाकाको एक कपडा कारखानामा काम गर्ने श्रमिक महिलाहरुले पुरुषसमान ज्याला र सुविधाको माग राख्दै आन्दोलनको आगो सल्काउन थालेर परिवर्तनको क्रान्तिकारी इतिहास रचेका थिए । पछि सन् १९१० मा सोसलिस्ट मार्क्सवादी महिला कालरा जेट्लिनले कोपेनहेगनमा भएको अन्तर्राष्ट्रिय कन्फरेन्समा विश्वभरबाट महिला दिवस मनाउने प्रस्ताव
पेश गरिन् । उक्त कन्फरेन्समा डेनमार्क, अष्ट्रिया, जर्मनी, स्विट्जरल्याण्डलगायत १७ देशका १०० महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ती सबै देशका महिलाहरुबाट क्लारा जेट्लिनको प्रस्तावलाई समर्थन मिल्यो । तत् पश्चात विश्व महिला दिवसलाई वार्षिक रुपमा मनाउने प्रस्ताव पारित भयो ।
यसरी बिस्तारै मताधिकार, सरकारी कार्य र राजनीतिमा स्थान, नोकरीमा भेदभाव, लैङ्गिक असमानताको विरुद्ध खुलेर आवाज बुलन्दित गर्ने परिपाटिको जग बसालिएको थियो । सन् १९१३-१८ ताका विश्व युद्धमा लाखौँलाखको संख्यामा सैनिकहरु मारिए । विश्वका धेरै देशका नारीहरुले आफ्नो श्रीमान् गुमाए, छोरा गुमाए, बालकहरु अनाथ बने । सन् १९१७ मा युरोपभर विश्व युद्धको बिरुद्दमा रसियन र केही युरोपियन नारीहरुले शान्तिको निम्ति, रोटी र प्रेमको निम्ति भिषण आन्दोलनको प्रदर्शन गरे । नारीहरुको आवाजलाई सत्ता पक्षबाट दबाउने क्रम जारी नै थियो । राजनेताहरु नारीहरुको क्रान्तिकारी आन्दोलनको विरुद्धमा थिए । तर नारीहरुले हिक्मत हारेनन्, साहसका साथ आन्दोलनलाई जारी राखे । फलस्वरूप नारी सशक्तिकरणको अगाडि सत्ताको केही लागेन । रूसको जारले आफ्नो गद्दीबाट हट्नु पर्यो ।
यसपछि बनेको अन्तरिम सरकारले महिलाहरुको निम्ति मताधिकारको घोषणा गर्यो । यसरी युरोपियन महिलाहरु द्वारा मनाउँदै आएको विश्व महिला दिवसले सन् १९७५ मा आएर आधिकारिक रुपमा मान्यता पायो । सङ्घर्षको लामो फड्को मारेपछि सयुक्त राष्ट्र संघले विश्व नारी दिवसलाई वार्षिक रुपमा आठ मार्चको दिन एक थिमको साथ मनाउने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको पहिलो थिम “सेलिब्रेटिङ्ग द पास्ट प्लानिङ्ग फर द फ्युचर” थियो । यसपछि बिस्तारै विश्वभरका महिलाहरुमा नारी सशक्तिकरणको चेतना जागृत हुँदै गयो र फलस्वरूप नारी दिवस ८ मार्च मनाउने क्रममा यो वर्ष सन् २०२१ मा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस हामी मनाइरहेका छौँ । सशक्त समाज र समृद्धशाली राष्ट्र निर्माणको निम्ति पुरुष बराबर नारीहरुको पनि पूर्ण रुपमा सहभागिता हुनु जरुरी छ । समाजको हरक्षेत्रमा नारी सहभागिताको निम्ति उनीहरुलाई प्रोत्साहन र अवसरले मुख्य भूमिका निर्वाह गर्ने गर्छ । विश्व नारी दिवस मनाउनुको पछाडि मुख्य रुपमा नारी सशक्तिकरणको अभियान जोडिएर आउने गर्छ । महिलाको उत्थानबिना सर्वाङ्ग समाजको उत्थान असम्भव छ । समाज जति नै परिवर्तनको मार्गमा बढेको किन नहोस् आजसम्मको स्थितिमा पनि पितृसत्ता समाजले जरो गाडेको अवस्था छ हाम्रो देशजस्तै कतिपय देशमा । पितृसत्तात्मक सोचले जानअन्जान रुपबाट रुढीवादीलाई प्रोत्साहन गर्ने काम गर्छ । जहाँ रुढीवाद हुन्छ, त्यहाँ कुप्रथाको साङ्ग्लोमा नारीहरु जकडिने गर्छन् र उनीहरुको स्थिति दयनीय हुन जान्छ । हाम्रो समाजमा सांस्कृतिक विकृति र कुप्रथाहरु अझै जिवितै छन् । तराईँ झरे दाइजो प्रथाले जलाउँछ, सुदूरतिर छाउ प्रथाले गलाउँछ, यस्तै घरेलु हिँसा, यौन शोषण, लैंगिक विभेदजस्तो अमानवीय व्यवहार र अपराधले देशको कुनै पनि स्थान, गाउँदेखि सहरसम्म कतै अछुत छैन । जबसम्म समाजमा यस्ता कुप्रथा र दुर्व्यवहारको शिकार नारीले बन्नु पर्छ, त्यो
समाज र देशले शिखर चुम्न कदापि सक्दैन । नारीको अवस्था कमजोर हुनुमा सामाजिक संरचनाले अहम् भूमिका खेलेको हुन्छ l
वास्तवमा नारी कुनै हालतमा कमजोर हुँदैनन् । उनीभित्र असीमित शक्तिको भण्डार हुन्छ । शारीरिक रुपमा कोमल तर आत्मिक क्षमताले सशक्त हुन्छिन् । स्वयम् उनको क्षमतासँग उनलाई रुबरु गराउने सामाजिक परिपाटी निर्मित हुनु जरुरी छ । उनी जस्तोसुकै निर्णय गर्न सक्षम छिन् र भारीभन्दा भारी गह्रौँ बोझलाई हल्का तरिकाले बोक्न सक्छिन् । उनको यस्तो क्षमतादेखि पुरुषहरु नै अचम्भित हुन्छन् । दया, माया, करुणाकी खानी र क्षमाकी दानी उपमाको पर्दाले सदियौँदेखि उनलाई नेपथ्यमा पारेको छ l हुन त समयले क्रमिक रुपमा परिवर्तनको फड्को नमारेको हैन l घरको चार पर्खालबाट निस्केर आजको नारीले सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र अन्य विभिन्न तहतप्कामा न्यून संख्यामा भएपनि आफ्नो पकड जमाउन सुरुआत् गरिसकेका छन् । यसरी बाहिर निस्कने नारीको संख्या देशको आधाभन्दा कम नै छ अझै । जसलाई नारी मुक्तिको ढोका खोल्न शताब्दी लाग्ला नलाग्ला तर संघर्षको लामो श्रृङ्खला पार गर्न भिषण चुनौतीको सामना गर्नु सहज छैन । हाम्रोजस्तो अविकसित देशमा नारीहरुको स्थिति आर्थिक रुपमा आत्मनिर्भर नहुँदा विभिन्नखाले शोषण र प्रताडना झेल्न बाध्य छन् । हाल म बेलायतमा बसिरहेको छु । यहाँका नारी र नारी दिवसको पनि स्तर आभाष गर्ने मैले मौका पाएको छु । सम्पन्नशाली अति बिकसित देशका नारीहरु पनि घरेलु हिंसाको शिकार भारी मात्रामा हुँदा रहेछन् । हुन त ब्रिटेनी नारीहरु हरकिसिमको विभेदबाट मुक्त छन् र यहाँ नारी दिवसको दिन बिदा हुँदैन । यद्यपि कार्यालयमा भएपनि एकाध घण्टा “वुमेन्स डे”को नाममा जमघट हुन्छ्न् । महिलाको स्थिति हिजोभन्दा आज कति बेटर भयो भन्दै समीक्षा गर्छन् र भविष्यमा कसरी बेटर बनाउने भनेर योजना बुन्छन् । बिषय वस्तुमा रहेर सटिक छलफल गर्छन् । समयको मूल्य र महत्व बुझ्नेमा यिनीहरु निकै अगाडि छन् । यहाँ महिला भएको कारणले कुनै पनि क्षेत्रमा असमानता खेप्नु पर्दैन । यति हुँदाहुँदै पनि यहाँका महिलाहरु यौन शोषण, दुर्व्यवहारको शिकार बनेका खबरहरु पढ्न, सुन्न पाइन्छ । घरेलु हिंसा सबै अपराधभन्दा बढी घट्ने घटनामा पर्दो रहेछ यहाँ । यसै कारणले होला कार्य स्थलमा मलाई महिला सहकर्मीले कुनै दिन मेरो मुख मलिन देखे भने श्रीमानसँगको सम्बन्धको बारेमा सोध्छन् । अनि भन्छन् केही परे मलाई साझा गर्नु है… लोग्ने मान्छेको हेपाइ र अपमान सहने गर्नु हुन्न भन्छन् । चाहे विकसित देश होस् या अविकसित देश होस् विश्वभरको नारीहरु घरेलु हिंसाबाट गुज्रिरहेका हुन्छन् । हाम्रो देशमा मुखले दोस्नु, गालीगजौल गर्नुलाई अझै पनि महिलाहरु हिंसाको रुपमा लिने गर्दैनन् । शिक्षित र सचेत महिलाहरु पनि बिरोध गर्न हिच्किचाउँछन् । बाहिर कुरा निकाल्न र उजुरी दिन धेरैले आँट नै गर्दैनन् । यसै कारण मनोबल बढेर पुरुषद्वारा शारीरिक, मानसिक प्रताडनाको शिकार बन्ने गर्छन् । यता ब्रिटेनी महिलाहरुको भने मुखको वचन मात्र पनि खप्ने आदत नहुँदो रहेछ । त्यसैले यिनीहरुको वैवाहिक सम्बन्धमा आपसी स्पष्टताको जरुरत पर्ने रहेछ, जसले निर्वाध
रुपमा सहमति र द्विपक्षीय चाहनाका साथ सम्बन्ध सुचारु हुन सकोस् । सामाजिक-सांस्कृतिक कारण, महिला मुक्ति र स्वतन्त्रता, महिलाहरुको आत्मनिर्भरता, सजगता र जागरुकता आदि यसमा प्रभाव पर्ने तत्वहरु हुन् ।
हाम्रो समाज र देशको अवस्थाको हकमा पनि हिजोको दाँजोमा आज केही सुधार देखिएको छ जुन नारीहरु शिक्षित हुनुको परिणाम हो । यसैले समाज बदल्नुको लागि महिलाले बदलिने वातावरण पाउनु पर्छ ।
यद्यपि हाल देशमा बलात्कार, एसिड आक्रमण, घरेलु हिंसाजस्ता महिला उत्पीडनका घटनाहरुमा बढोत्तरी देखिन्छ । एकातिर जति-जति समाज शिक्षित, बिकसित र चेतनशील हुँदैछ, अर्कोतिर त्यति-त्यति नै हिंसाका नयाँ-नयाँ प्रविधि र प्रकृतिहरु देखा पर्दैछन् । त्यसैले सिद्धान्तमा होइन व्यवहारमा, संचारमा होइन संस्कारमा, प्रचारमा होइन प्रवृत्तिमा परिवर्तन आउनु जरुरी देखिन्छ । जसले पुरुषवादभित्र रहेको गुप्त सम्वादको प्रत्यक्षीकरण गरी त्यसलाई निर्मूल गरी समन्यायिक समाज निर्माणमा भूमिका निर्वाह गर्न सक्छ । त्यसैले शहरी र केही सुगम क्षेत्रमा विश्व महिला दिवस मनाइरहँदा गाउँ दूरदराजका महिलाहरु आफ्नै अधिकारको बिषयमा घन्केको नाराप्रति अनविज्ञ हुने दिनको अन्त हुनु पर्छ । वर्षको एक दिन सेमिनार र गोष्ठीहरु गरेर मात्र नारी सशाक्तिकरण अभियानप्रतिको हाम्रो दायित्व पूर्ण हुँदैन । जहाँ नारीलाई कुण्ठित गरिन्छ, दबाएर राखिन्छ र भाले सत्ता हावी हुन्छ, त्यो समाजमा हमेशा समस्या झ्याँगी रहन्छ । नारी दिवस मनाउनुको औचित्य तब पूरा हुन्छ, जब प्रत्येक नारीले सशक्त बन्ने अवसर घरबाटै प्राप्त गर्छन् । महिलाले शिक्षित हुनुको साथसाथै आत्मरक्षामा पनि आफूलाई निपूर्ण तुल्याउनुपर्ने हुन्छ । आफ्नो हकको लागि आवाज, सुरक्षा र सम्मानको लागि सजग र हिंसाको विरुद्ध विरोधको आवाज घरदेखि सुरु गर्दै पर लागू गर्नु पर्छ । नत्र स्लोगनले मात्र नारीको स्थितिमा प्रगति आउँदैन । व्यवहारमा रुपान्तरण गर्दै ठोस कदम चाल्नुले नै नाराले सार्थकता पाउँछ ।
विश्वभरका सम्पूर्ण नारी गणमा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको प्रशस्त शुभकामना ! नारी मुक्तिको आन्दोलनसँग जोडेर सङ्घर्षले मनाउँदै आइरहेको नारी दिवस अबका दिनमा दुःख वेदना पोख्ने वार्षिक अवसरका रुपमा होइन सदियौँदेखिको विभेद विभाजन भएको हर्षोत्सवको रुपमा मनाउन पाइयोस् यही छ चाहना, यही छ कामना ।
जय नारी शक्ति !
जय मातृ शक्ति !!
जय नारी दिवस !!!