मधुरस जीवनको…
– समीर मुखिया (सुनुवार)
खिँचि, चुप्लु
बन्द कोठामा
बाघे गर्जनको घुराइ
लम्पसार परेर बेहोसी निन्द्रामा
अट्टाहास लाग्दो थकानमा बरबराउँदै
“अलिकति यार… यति सकेर अब जाने…”
चियर्स…
अंगुरीको भट्टी पसल
दुनिया रमाइलो छ
दुःख यही बिसाउने चौतारी
पीडा आनन्दमा प्रकट गर्न
रसताल जीवनको यसैमा
सत्व, तम, रज
तीनै तत्वको आनन्दीमा
संसार डुबुल्की मार्न
सम्भव छैन यसको साहारा बिना
चिसो सिरेटोले कन्चट चिसाएपछि
झस्याङ्ग हुँदै ब्युँझदा
सडकको चिसोमा पल्टिरहेको
निस्पट्ट कहालीलाग्दो अँध्यारो
सन्नाटामा कुकुर भुकिरहेको
त्रासदी गुन्जन शिवाय केही सुनिदैन
सुकुमल विस्तारा सुम्सुम्याउँदा
क्रंक्रिट र ढुङ्गा शिवाय
अन्य कल्पना गर्न नसकिने
जीवनको कष्ट भुलाउन
रोजेको एउटै साहारा
सडक बास, केवल नाली बिस्तारा…
मधुरस जीवनको…
बस ! मधुरस जीवनको…
Well written Sameer Mukhe! Keep it up.