बिर्सने बानीको शत्रु: प्लेँःकास
–कोइँच बुः काःतिच (उत्तम)
‘प्लेँःकास’लाई खस भाषामा ‘बुद्धिगाँठो’ वा चेतगाँठो नामले बुझ्ने गरेको पाइन्छ । प्लेँः र कास दुई शब्द मिलेर बनेको यस शब्दको अर्थ भनेको बिर्सिना वा बिर्सिने अबस्थालाई थारखरीको जराभित्र थुन्नु भन्ने हुन्छ । प्लेँः भनेको बिर्सना हो र कास भनेको कहिल्यै ननिस्कीने गरी थुन्नु वा जडान वा ढलान गर्नु हो । जस्तै चुबुमि लाहा काअ्चा । यसैले प्लेँःकास बनाउन थारखरी नै चाहिन्छ भन्ने विश्वास छ । जसरी खुकुरीको बिँड फुक्लिँदा बिँड काअ्चा लाहा चाहिन्छ त्यसरी नै प्लेँः वा भुल्ने वा बिर्सने बानी काअ्चा थार्खरी नै चाहिन्छ । यसैले थारखरीको जरामा भुल्ने बानी थुन्दा कुनै पनि कुरा बिर्सने बानी लाग्दैन भनेर थारखरीको जराबाट तीनकुने, पाँचकुने र सातकुने आकारमा प्लेँःकास बुनेर गहना वा चिनो वा बुटीको रुपमा कोइँच रुयापरुइमिले लगाउने गर्दछन ।
ससि मुक्दम
उहिले मानव उत्पत्ति हुँदा सुयुकि र सुयुपि मात्रै थिए । उनीहरुले आफु एकै आमाको सन्तान भन्ने कुरा नै बिर्से र अनैतिक क्रियाकलाप गर्न उद्दत्त भए । यस्तो क्रियाकलाप आफ्नै सामु हुन लागेको देखेर इँगिले फरे बज्र प्रहार गरे । ९यसैले कोइँचमा नाता साइनो पर्नेमा विवाह गर्नु हुँदैन । देउदण्ड बेहोर्नुपर्छ । त्यसरी अनैतिक सम्बन्धबाट जन्मेकालाई चट्याङले हान्छ भन्ने मान्यता रहिआएको र हालसम्म जनविश्वास छ ।० इँगिको आक्रोशमा बज्रको मार खाएपछि उनीहरु हाड नभएको मान्छे जस्तै लालङ्ने सुसुङ्ने भए र चेत नै आएन । के गर्ने नगर्ने कुनै बुद्धिविवेक नभएको बच्चा जस्तै भएर बाँच्नु परेउ । धेरै समयसम्म बच्चालाई जस्तै स्याहार सुसार गर्नु परेको हुँदा कलिमामालाई साह्लै चिन्ता भयो । ९कोइँचमा कलिमामा वा कलिपिपिले छ महिनासम्म मात्रै स्याहार सुसार गर्नु हुन्छ भन्ने जनविश्वास छ । त्यो भन्दा बढी स्याहार्नु परेउ वा स्याहार्न जिम्मा दिँदा बच्चा हुँदैन । बच्चा हुनको लागि कलपिपला ख्योल्चा वा निकाल्नुपर्छ भन्ने मान्यता छ ।० अनि अनि उनीहरुको बुद्दिबिवेक स्थिर राख्न वा परिपक्वा बनाउनको लागि विभिन्न जडीबुटी र उपायहरु खोजिन र इँगिलाई सम्झिइन । इँगिले फेद पनि होइन टुप्पा पनि होइन लेक पनि होइन बेँसि पनि होइन वीचको खर्की घाँस थार्खरीको जरामा बिर्सना थुनिदिनु अनि सुयुकि र सुयुपिको चेत स्थिर रहने उपाय बताए । इँगिकै बचनको पालना गर्दै कलिमामाले बिर्सना प्लेँः थारखरीको जरामा काःनाकाःन थुन्दै सम्झना तलै तला बुन्न वा थप्न प्लेँःकास बुन्ने सिकाइन । यो क्रम पटक पटक दोहरीरह्यो । सोही प्लेँःकास साङधुप गरेर प्रकृति र पितृ भाकेर लगाइदिएपछि अन्ततः सुयुकि र सुयुपिमा बुद्दिविवेक चेतको विकास भयो । के गर्ने के नगर्ने चेत आयो । (उही सुयुकि र सुयुपिको सन्ताान नै अहिलेका दुमा मुइलि कोइँच सुनुवार हुन् । यसैले दुमामुइलिका सुनुवारले दुम्सि मार्नु हुँदैन भन्ने जनविश्वास छ ।) सोही समयदेखि कोइँचमा कुनै कुरा बिर्सिने बानी लाग्यो भने प्लेँःकास लगाउने वा लगाइदिने वा लगाउन सल्लाह दिने गरिएको हो भनिन्छ । यसरी सम्झना रही रहने कारण आजकाल प्रेमी प्रेमिकाहरुले पनि माया अमर रहीरहोस् , कहिल्यै नबिर्सियोस् भनेर मायाको चिनोर स्वरुप क्योङ, प्लुप्से सँगसँगै प्लेँःकास पनि दिने वा लगाइदिने चलनको विकास भएको पाइन्छ ।
मान्यता र प्रयोग
प्लेँःकासको कुना र सुर अनुसार फरकफरक मक्दुमी मान्यता वा महत्व रहेको पाइन्छ । तीनकुने तीन चुलाको प्रतिक, पाँचकुने पाँच तत्वको प्रतिक सातकुने सात तलाको प्रतिक र नौकुनेको नौ तलाको प्रतिकका रूपमा मानिन्छ । यसलाई धारण गर्ने वा लगाउनाले मानसिक सन्तुलन ठीक रहने तथा स्मरणशक्ति बढ्ने विश्वास गरिन्छ । पछिल्लो समयमा ब्याज, किरिङ आदिको रूपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । आजकाल थारखरीको अलावा मालिङ्गो, निगालो बाँसलगायतको चोयाबाट समेत प्लेँःकास बनाइन्छ । साँस्कृतिक प्लेँःकास भने थार्खरीकै चाहिन्छ ।
के हो थारखरी
थारखरी १८०० सयदेखि २२०० मिटरको उचाइमा पाइने घाँस प्रजातिको वनस्पति हो । यो धेरै अग्लो त हुँदैन तर मकैको बोटमा माटो भन्दा बाहिर जसरी कलिलो जरा निस्केर भुइँमा गाडिन्छ त्यस्तै थारखरीको पनि दुइ तीन फिट माथिसम्मको आँख्लाबाट जरा निस्केर भुइमा पैmलिन्छ । सो जरालाई नै बटुलेर उहिले गोठ बस्दा थारखरिहरु बनाउने र आफ्ना मनपरेको मान्छे साथी आफन्त र प्रेमीप्रेमिकालाई दिने गर्दछन् ।